काठमाडौं कोटेश्वरकी समिता लुइटेलकहाँ छिमेकीले २ ओटा प्याज सापटी मागिन् ।
समिताले दिएकै दिन साँझ छिमेकीले सापटि तिरिदिइन् । ‘पर्दैन न नि किन तिरेको ?, अफ्टेरो परेको बेला छिमेकी के काम ?’ समिताले भन्न नपाउँदै छिमेकीले बजारमा प्याज महंगो मात्र होइन अब भोलीदेखि नपाइने छिमेकीले सुनाइन् ।
यो एउटा उदाहरण मात्र हो । पछिल्लो समय काठमाडौँ उपत्यकामा सिजनमै आलुको मुल्य महंंगोसँगै अभाव देखिएको छ ।
सरकारले आलु र प्याजमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण व्यापारीले कारोबार ठप्प पारेपछि अभाव हुन थालेको सर्वसाधारणले जनाएका छन् ।
आलु र प्याजको आपूर्ति हुन नसक्दा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्सिर १९ गतेपछि दैनिक मूल्यसूचीमा आलुको मूल्यसमेत राखेको छैन ।
व्यापारीले नेपाली कृषि उत्पादनलाई भ्याट नलगाइने भनेर सरकारले आश्वासन मात्रै दिएको आरोप लगाएका छन् ।
अहिले बजारमा आलु र प्याजको आपूर्ति नभएकाले दैनिक मूल्य सूचीमा ती दुई वस्तुको मूल्य समावेश गर्न नसकिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
‘व्यापारीले आलु र प्याज नल्याएपछि हामीले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य राख्न सकेका छैनौँ,’ उनले भने ।
सरोकारवाला निकायसँग छलफल गरिए पनि बजारमा देखिएको आलु र प्याजको अभावलाई समाधान गर्न नसकिएको समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले बताए ।
‘आन्तरिक राजस्व विभागसँग छलफल गर्दा मौखिक रूपमा भ्याट लाग्दैन, कारोबार गर्नुहोस् भनिएको छ,’ पौडेलले भने, ‘तर कारोबार गर्दा भ्याटको खोजी भइरहेकाले प्यापारीले कारोबार ठप्प गरेका हुन् ।’
आलु र प्याजको कारोबारमा अरूले रोक नलगाएर व्यवसायी आफैँले कारोबार बन्द गरेको आलु प्याज व्यवसायी महासङ्घका महासचिव प्रकाश गजुरेलले बताए ।
‘आर्थिक वर्षको बजेट ल्याउँदा नै तरकारी छिटो बिग्रिने वस्तु भएकाले भ्याट बिलमा कारोबार गर्न समस्या हुने हामीले सरकारलाई जनकारी गराएका थियौँ,’ उनले भने, ‘पटक पटक हाम्रो समस्या सुझाएपछि तपाईँहरू कारोबार गर्नुहोस्, स्वदेशी उत्पादनमा भ्याट बिल नलाग्ने भनिएको थियो तर पछिल्लो समय आन्तरिक राजस्व विभागका अनुगमन टोलीले नियमन गर्ने क्रम स्वदेशमा उत्पादन भएको आलु र प्याजको हकमा पनि भ्याट बिल खोज्न थालेपछि स्वतःस्फूर्त रूपमा किसान र व्यवसायीले संयुक्त रूपमा आलु र प्याजको आपूर्ति ठप्प गरेका हुन् ।’
सरकारसँग तरकारीमा लगाइने भ्याटको विषयमा पटक पटक समन्वय गर्दा नेपाली कृषि उपजमा भ्याट नगलाइने आयातितलाई मात्रै लगाइने भनिएको उनले बताए । ‘भारतीय कृषि उपजलाई निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको थियो,’ उनले भने, ‘नेपाली उत्पादनलाई भ्याट नलाग्ने गरी नीति नै ल्याउने भनिएको थियो तर कार्यान्वयन भएन, आश्वासन मात्रै दिइयो ।’
गजुरेलका अनुसार कारोबार गर्न सहज नहुँदासम्म व्यापारीले आलु र प्याजको आपूर्ति नगर्ने जनाए । ‘आलु र प्याजमा कारोबार गर्न समस्या भएको दुई-तीन दिनदेखि पहल गर्दै छौँ ।’ गजुरेलले भने ।
सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले बताएका छन् । आलु र प्याजमा लगाएको भ्याटको विरोध गर्दै व्यवसायीले हिजो बुधवार २० गतेदेखि आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएर बजारमा जाने आलु र प्याजमा भ्याट लगाएकाले व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् ।
किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको आरोप लगाउँदै उपत्यकासहित देशभरका ठुला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका महासचिव भरत खतिवडाले जानकारी दिए । ‘जसले खेती गर्छ, उसले भ्याट बिल दिन सक्दैन,’ उनले भने, ‘बिक्रेताले पनि भ्याटमा कारोबार गर्न नसक्ने भएपछि आपूर्ति ठप्प गरिएको हो ।’
सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो ।