Public Pana
सरकार गैरजिम्मेवारी भैसकेको एमाले अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् ।


आज बिहीबार मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको टिप्पणी गरेका हुन् ।

अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताउँदै उनले सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको आरोप लगाए ।

उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।


‘अर्थतन्त्र ध्वस्त भएको छ, महँगी बढेको छ, युवा पलायन भइरहेका छन्, देश कमजोर हुँदै गएको छ, बैंक र ऋणीहरुको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ,’ ओलीले भने, ‘अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो ।’


अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए ।

‘देशमा राजनीतिक अस्थिरता बढ्दो छ । अराजकता बढ्दो छ । जनतामा निराशा र अन्योल बढ्दो छ, युवाहरु पलायन भइरहेका छन्, अर्थतन्त्र ध्वस्त हुँदै गएको छ,’ उनले भने ‘कर्मचारी पाल्नका लागि आन्तरिक ऋण उठाएर पाल्नु परेको छ । त्यही पनि पहिलो चौमासिकमा । पहिलो चौमासिक, जतिबेला सबैभन्दा बढी पैसा संकलन हुन्छ ।’
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update