Public Pana
उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ भएकाले तत्कालै रोकिन सक्ने  चिरिबाबुको चिन्ता

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ प्रकृतिको मात्र रहेकाले जुनसुकै दिन रोकिन सक्ने बताएका छन् ।


आज बिहीबार पत्रकारसँगको कुराकानीमा उनले फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी रहेको बताए ।


‘उपत्यकाको फोहोर व्यवस्थापन एकदमै मार्जिनल टाइपले भइरहेको छ । भरे पनि रोकिन सक्छ । भोलि पनि रोकिन सक्छ । केवल काम चलाउको रुपमा भइरहेको छ । यसलाई दिगोपन दिनुपर्छ’, उनले भने ।


हाल काठमाडौं उपत्यकाका दुईवटा महानगरपालिका र १६ वटा नगरपालिकाको फोहोर धादिङको बन्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्ने गरिएको छ । त्यहाँ दिनको लगभग १२ सय मेट्रिक टन फोहोर फाल्ने गरिएको छ । त्यहाँ फाल्ने फोहोरमध्ये ६५ प्रतिशत काठमाडौं महानगरपालिका र १९ प्रतिशतसम्म ललितपुरको हुने गरेको मेयर महर्जनले बताए ।


ललितपुर महानगरपालिकाबाट उत्पादित फोहोरको आफैं व्यवस्थापन गर्ने कि भन्ने सोचे पनि तत्काल सम्भव नहुने बताए । ‘एक त ललितपुर महानगरपालिकाको जति पनि क्षेत्र छ, त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको रुटमा पर्छ । दोस्रो कुरा, हामीले महांकाल गाउँपालिकामा पनि फोहोरमैला व्यवस्थापन गर्ने भनेर कोशिस ग¥यौँ । तर त्यहाँ पनि सोसल इस्युहरु निस्कियो’, उनले भने ।


सरकारले काठमाडौं उपत्यकाको फोहोर फाल्नका लागि बञ्चरेडाँडामा पूर्वाधार बनाएको छ । तर त्यहाँ कुहिने र नकुहिने फोहोर सही ढंगले व्यवस्थापन नगर्दा ५० वर्षका लागि डिजाइन गरेको पूर्वाधार १० वर्ष पनि नटिक्ने जोखिम देखिएको उनको भनाइ छ ।


‘बञ्चरेडाँडा ५० वर्षको निमित्त गरेको डिजाइन हो । तर अहिलेकै हिसावमा गयो भने त्यो ५० वर्ष होइन १० वर्षपनि टिक्दैन । ५० वर्षसम्म आयु टिकाउनकै निमित्त पनि ओखरपौवाको फोहोर सफा गरेर त्यहाँ निस्किएको सोसल इस्युलाई सम्बोधन गरेको खण्डमा यसको आयु बढ्छ’, उनले भने ।

यो विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको र उनी सकारात्मक रहेको महर्जनले बताए ।


अहिले जसरी नै फोहोर फाल्ने हो भने त्यहाँको ल्याडफिल साइट छिट्टै भरिने उनले बताए ।


‘अहिले त्यहाँको जुन अवस्था छ, एक त ओखरपौवाले गर्दा त्यहाँको जनजीवनलाई नै अस्तव्यस्त पारिएको छ । काठमाडौं उपत्यकाको फोहोरले त्यहाँको स्थानीय जनतालाई दुःख दिन पाइँदैन । दुःख दिनु हुँदैन’, उनले भने ।
बन्चरेडाँडा क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न काठमाडौं उपत्यकाका सबै नगरपालिकाले दामासाहीले खर्च व्यहोर्नुपर्ने मेयर महर्जनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update