Public Pana
विराटनगरमा आगलागीबाट मृत्यु हुनेको संख्या आज ३ पुग्यो

विराटनगर उपमहानगरपालिका– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिजो बुधवार भएको आगलागीको कारण केमिकलमा हाल्ने पफ्र्युम (सेन्ट) भर्ने क्रममा चुरोट सल्काउँदा आगलागी भएको मोरङ प्रहरीले जनाएको छ । 

‘काम गर्ने क्रममा एक जनाले केमिकलको बट्टा फुटाउँदै थिएँ । त्यो क्रममा चुरोट पनि सल्काइयो । यसपछि आगलागी शुरू भयो,’ घाइते भएका किशोर पासवानले प्रहरीलाई दिएको जानकारी उद्धृत गर्दै डीएसपी रञ्जनकुमार दाहालले भने, ‘आगो लागेपछि कतिपय भाग्न सफल भए भने कोही तत्काल बाहिर निस्कन नपाउँदा घाइते भए ।’ 

सामान्य घाइते भएका पासवानले आगलागी भएपछि आफू बाहिर निस्किएका थिए । तर श्रीमती भित्रै रहेकाले उनलाई लिन जाँदा आफू घाइते भएको बताएका छन् । उनकी श्रीमती सुशीला पनि आगलागीमा घाइते भएकी छिन् । 

आगलागीमा परेकामध्ये पाँच जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । अन्य घाइतेमध्ये विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार र अन्दाजी ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर पासवानको कोशी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । घाइतेमध्ये सुशीला र रीताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको ७० प्रतिशतभन्दा बढी जलन भएको छ ।

यसैबीच आगलागीबाट मृत्यु हुनेको संख्या आज बिहीवार तीन पुगेको छ । बुधवार रातिसम्म दुई जनाको मृत्यु भएको थियो ।​ न्युरोमै उपचारका क्रममा विराटनगर– ६ का दीपक मण्डलको मृत्यु भएको थियो । उनी कवाडी सञ्चालक दुखा मण्डलका छोरा हुन् । मण्डललाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

एक जनाको जलेर मृत्यु भएको अवस्थामा बुधवार घटनास्थलमै शव फेला परेको थियो । शवको पहिचान भने भएको छैन । मृतक महिला रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिएपछि उनको शव भेटिएको थियो ।

अर्का एक जनाको पनि मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दाहालले जानकारी दिए । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता दाहालले लोकान्तरलाई जानकारी दिए । उनी को हुन् बुझ्ने काम भइरहेको उनले बताए । 

कवाडी गोदाममा बुधवार दिउँसो २ः१५ बजेतिर आगलागी शुरू भएको थियो ।

प्रहरी, सुनसरी र मोरङका आधार दर्जन बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update