Public Pana
जनकपुरकी आरती साहका पति र ससुरालाई थुनामा पठाउने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार साहलाई थुनामा पठाउने आदेश दिएको हो ।

आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको उल्लेख गर्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।


उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले गत असार १ गते जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।

अदालतले थुनछेक बहसपछि गत असार ५ गते आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।

सोहीविरूद्ध उक्त विवाद सर्वोच्च अदालतमा आएको थियो ।


आरती र मोतीबाबुबीच असार २०७७ असार २९ गते विवाह भएको थियो ।

दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update