Public Pana
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ

विराटनगरको मुख्य बजारमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
आगलागीमा परी विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर–६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ ।

विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आज बुधबार दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो ।

गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरु सहजै भाग्न पाएनन् ।

आगलागीमा परी मृत्यु हुने महिलाको नाम ठेगाना खुलेको छैन । अर्का मृतक भने विराटनगर महानगरपालिका–६ का ४० वर्षीय दीपक मण्डल हुन् । उनको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

डीएसपी दाहालका अनुसार आगलागी नियन्त्रण गर्न दुई घण्टा भन्दा बढी समय लागेको थियो । आगलागीको कारण र क्षतिको विवरण आइनसकेको उनले बताए । ‘प्रारम्भिक सूचना अनुसार मृतक दीपक मण्डल नै कवाडी पसलको सञ्चालक रहेको कुरा आएको छ’ उनले भने, ‘थप अनुसन्धान गर्दैछौं ।’

कवाडी गोदाममा एक्कासी आगलागी हुँदा छेउछाउका स्थानीय त्रसित भएका थिए । आगलागीबाट निस्किएको धुवाँका कारण छेउछाउका विद्यालयको पढाइ केही समय प्रभावित भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update