Public Pana
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ

नेपाली युवालाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ती गराउने लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर आज बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पु¥याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । 

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन् ।

पासपोर्ट बाहकमध्ये कतिपयलाई रुस लैजाने तयारी गिरोहले गरिरहेको एसएसपी खत्रीले बताए ।
अनुसन्धान अधिकृतहरुका अनुसार, सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् । ईश्वरले पनि इन्कारी बयान दिएका छन् ।
तर, उनका दाजु भने नेपालीलाई रुस लैजान प्रत्यक्ष संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । उनको खोजी भइरहेको छ ।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी हुन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् ।

काठमाडौं प्रहरीका डीएसपी अंगुर जिसीका अनुसार, उनले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।

‘सुरुमा ११ जना र दोस्रो पटक गरेर ७ जना पठाएको भनेका छन्’, उनले भने, ‘पहिले नेपालबाटै पनि उनीहरुलाई लगिएको देखिएको छ । पछि यूएई र भारतबाट लगिएको देखिन्छ ।’

प्रहरीका अनुसार हरिबहादुर पूर्वसैनिक समेत हुन् ।


उनले ५ वर्षअघिदेखि मेनपावर कम्पनी चलाउँदै आएका थिए । उनले नेपाली सुरक्षा निकायका अधिकृतहरुलाई नै समेत प्रलोभन देखाएर रुस पठाएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, यो गिरोहले रसियामा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेको थियो ।

‘पहिले टिकटक, पछि फेसबुक र अन्य माध्यमबाट ७ लाख जति खर्च हुन्छ, मासिक २ लाख रुपैयाँ कमाई हुन्छ भनेर प्रचार गरेको देखिन्छ’, उनले भने, ‘योग्यता र समयअवधि अनुसार वृद्धि हुँदै जाने भन्ने विभिन्न माध्यमबाट प्रचार भएपछि नेपाली युवा प्रलोभनमा परेको देखिन्छ ।’

पक्राउ पर्ने अन्यमा काठमाडौं, जोरपार्टीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन, बुढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन् ।
त्यस्तै, बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update