Public Pana
शेयर बजारमा आज केही वृद्धि

उतारचढावबीच केही दिन वृद्धि र केही दिन गिरावट भइरहेको शेयर बजार पछिल्ला ७ कारोबारमा घटेर आठौँ कारोबारमा सामान्य वृद्धितर्फ देखिएको छ ।


गएको साता पहिलो कारोबारको वृद्धिपछि ओरालोतिर लागेको बजार आज सम्हालिएको हो।

 

गएको साता आइतबार ४७ अंकले बढेको बजार त्यसपछिका चार कारोबारमा ४९ अंकले घटेको थियो। यो साता पनि लगातार तीन कारोबारमा बजार घटेको थियो।


यो साता आइतबार ७.२९ अंकले घटेको बजार सोमबार ३.४२ अंकले घटेको थियो । हिजो मंगलबार पुनः १०.१० अंकले घटेर बजार १८३७.७१ बिन्दुमा झरेको थियो।

उतारचढावबीच आज बुधबार ३.३३ अंकले बढेर बजार १८४१.०४ बिन्दुमा पुगेको छ।


१२१ कम्पनीको शेयर बढेको बजारमा १ अर्ब १४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। १०६ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसेकोमा अहिले १८०० बिन्दुनजिक पुगेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै ओरालो यात्रा नै बढिरहेको छ। 
अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।
शेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।

बजारको आकार, लगानीकर्ताको संख्या र कारोबार बढिरहँदा नियामकीय क्षमता भने त्यसअनुरूप नबढेको र अहिलेकै अवस्थामा ठूलो सुधारको अपेक्षा गर्न नसकिने संगठित लगानीकर्ताहरूले बताउने गरेका छन्।

नियामकीय तालमेलको अभाव भइरहेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update