Public Pana
अर्थतन्त्रका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डको चिन्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् ।


अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ ।

आज बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरुको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ ।’

आगामी दिनमा गुणात्मक सुधारका उपाय खोजी गर्न जरुरी रहेको उनको भनाइ छ । ‘त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ ।

आउने वर्षहरुमा ती कुराहरुमा हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

यही मंसिर पहिलो हप्ता प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिहरुसँग बैठक गरेर अर्थतन्त्रका समस्या समाधानको लागि पहल गर्ने बताएका थिए । 

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा आफू अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बेला प्रधानमन्त्री भएको तर अहिले अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको बताउने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update