Public Pana
न्यूरोडको ओमपाल गोल्ड शपबाट ८ किलो सुन बरामद

प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ ।


उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो ।


त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो ।

केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ ।


सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले दाबी गरेको छ ।


यसअघि प्रहरीले साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।


यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ ।

समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update