Public Pana
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाल प्रतिबद्ध रहेको रक्षामन्त्री खड्काको भनाइ

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

सम्मेलनका अवसरमा गएराति संयुक्त राष्ट्रसंघ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गरे। भेटमा उपमहासचिव खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद दिए। 

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको समेत उल्लेख गरे। साथै यसका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिए। 


भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप–२८ मा समेत जोडदार रुपमा नेपालले उठाएको स्मरण गराए। 


उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गरे।

उनले त्यस अवसरमा घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको जानकारी गराए।

उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गरे। त्यस अवसरमा नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यका बारेमा छलफल भएको थियो। 

गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपाली विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेको उल्लेख गर्दै घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घानामा आउन कठिनाइ भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउन समेत समस्या भएको बताएका थिए। 

उपप्रधानमन्त्री खड्काले नेपालीहरुलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदानप्रदान गर्न र नेपालको कला, संस्कृति प्रबर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नका लागि उत्प्रेरित गर्न एवं आफूले सिकेको ज्ञान र आर्जन गरेको रकम नेपालमा पठाउन गैरआवासीय नेपाली संघले सहजीकरण गर्नुपर्ने विचार राखे।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update