Public Pana
आतंकवादको मुद्दामा २ जना दोषी ठहर

विशेष अदालतले ‘आतंकवादमा वित्तीय लगानी’ जोडिएको ५ वर्ष पुरानो मुद्दामा २ जनालाई दोषी ठहर गरेको छ ।

विशेषले बारा परशुरामपुरका समसूल होदा र महागढीमाईका गिरिबाबा भन्ने वृजकिशोर गिरिलाई आतंकवादी कार्यमा वित्तीय लगानी गरेको कसुरमा दोषी ठहर गरेको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलवार ५ वर्ष पुरानो मुद्दामा दुई जनालाई कसुरदार ठहर गरेको हो ।

विशेष अदालतमा पहिलो नम्बरमा रहेको पुरानो मुद्दा अन्ततः किनारा लागेको छ ।

विशेष अदालतको नयाँ नेतृत्वले सोमवारदेखि काम शुरू गरेको हो । यस मुद्दाका दोषीलाई मंसिर २८ गते सजाय तोकिने विशेष अदालत स्रोतले जानकारी दियो । 

होदा र गिरि कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट जन्मकैदको सजाय भई हाल कारागारमा थुनामा रहेका छन् ।

कसुरदार ठहरिएका उनीहरूलाई सम्पत्ति शुद्धीकरण (निवारण) ऐन २०६४ अनुसार ३ वर्षदेखि २० वर्षसम्म सजाय हुने व्यवस्था छ । 

घटना

पाकिस्तानी नागरिकको लगानीमा होदा र गिरीले भारतीय नागरिकलाई प्रयोग गरी भारतको मोतिहारीस्थित रेल्वे स्टेसनमा बम विस्फोटको योजना बनाएका थिए । 

सो प्रयोजनका लागि पाकिस्तानी नागरिकले नेपालको एक रेमिट कम्पनीमार्फत ८ लाख रुपैयाँ नेपाल पठाएका थिए । 

भारतको मोतिहारीस्थित रेल्वे स्टेसनमा प्रेसर कुकर बम राखिएको थियो । भारतीय प्रहरीले थाहा पाएर त्यो बम निष्क्रिय पार्यो। आफ्नो योजनाअनुसार विस्फोट नभएको भन्दै ती पाकिस्तानी नागरिकले नेपाली साझेदार होदा र गिरी बाबासँग पैसा फिर्ता माग्यो । 

गिरि बाबाले काम गर्दागर्दै विस्फोट भएको बताएपछि उसले विस्फोट गराउनमा संलग्नको हत्या गरेर भिडियो पठाउन आग्रह पार्यो । बाराको करैया जंगलमा लगेर दुईजना भारतीय नागरिकको हत्या आरोपमा गिरी र होदा पक्राउ परेका थिए । 

विशेष अदालतले विदेशबाट रकम झिकाई आतंकवादी क्रियाकलाप गरेको ठहर गर्दै होदा र गिरीलाई दोषी ठहर गरेको छ ।

प्रतिवादीहरू राजकिशोर गिरी र धिरजकुमार पाल, मोजाहिर अन्सारी र आशिष सिंहलाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update