Public Pana
कार्यालय बाहिर कसैले चलखेल नगर्न सैनिक प्रमुख शर्माको चेतावनी

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू सम्बन्धित निकायबाट एकिन गरेर मात्रै जंगी अड्डाले कारबाही अगाडि बढाउने गरेको दाबी गरेका छन् ।


आज मंगलबार कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेदवारहरूको उमेर, शैक्षिक योग्यता जस्ता विषयमा उठेका प्रश्नको जवाफ दिएका हुन् ।

विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरूको कागजात शंकास्पद देखिएकोले कारबाही गर्न सिफारिस गरेको उदाहरण पनि प्रधानसेनापति शर्माले दिए।

बढुवा सिफारिस भएका उपरथी सिग्देलको जन्ममिति पनि विवादित, उमेर घटाउन तीनपटक अभिलेख केरमेट संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताउँदै प्रधानसेनापति शर्माले भने, ‘स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएतापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्नु होला ।’
नेपाली सेनामा सरुवा, बढुवा लगायत वृत्तिविकास सम्बन्धी कार्यहरूका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेको र यसबारे सकलदर्जालाई जानकारी पनि भएको भन्दै संस्थाबाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन प्रधानसेनापतिले सचेत गराएका छन्।

नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको बताउँदै प्रधानसेनापति शर्माले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकुलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिवद्ध रहेको बताए।

पछिल्लो समय सञ्चारमाध्यमको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित संचालन प्रक्रिया लगायतका विषयमा अनर्गल प्रचारबाजि भइरहेको भन्दै यसप्रति सचेत रहन पनि शर्माले निर्देशन दिए।

नेपाली सेनाको गौरवलाई कायम राख्न मुख्य भूमिकामा रहेका युनिट कमान्डहरू लगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन प्रधानसेनापतिले निर्देशन दिए।

जंगी अड्डामा आयोजित कार्यक्रममा जंगी अड्डा र नजिकका निकायहरूमा कार्यरत रथीवृन्द तथा अधिकृतहरू सहभागी थिए।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update