Public Pana
बर्दिया पठाइयो चितवनको बाघ

चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।

नरभक्षी बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो ।

खैरहनी नगरपालिका–१२ को कुमरोज बस्तीमा मान्छे मारेपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो । 

कसराको खोरमा चार वटा र सौराहामा दुई वटा नरभक्षी बाघ छन्। केही दिनअघि मकवानपुरको मनहरीमा मानिसलाई आक्रमण गरेको अन्दाजी १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ। यस्तै, सौराहामै गत वर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको अन्दाजी १० वर्षको भाले बाघ पनि छ।

तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गत भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ। यसैगरी बाँकेबाट दुई वर्षअघि ल्याइएको अन्दाजी नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ। माडीको वनकट्टाबाट ल्याइएको अन्दाजी १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिई ल्याइएको अन्दाजी १२ वर्षको भाले बाघ कसरामा छन्। थप बाघ नियन्त्रणमा लिनुपर्दा तत्कालै राख्ने ठाउँ छैन। 

निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ। सोही ठाउँमा बाघ राख्नका लागि दुई वटा खोर बनाइँदै छ। 

पर्यटकलाई देखाउने गरी देवनगरका खोरमा राखिएका बाघको  व्यवस्थापन गरिंदै छ।

नरभक्षी बाघ बढ्दै गएपछि ठाउँ, जनशक्ति र आहाराका कारण यसको व्यवस्थापन कठिन बनेको छ। एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ। 

सन् २०२२ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ र देशभर ३५५ वटा बाघ छन्।

निकुञ्जले यस आर्थिक वर्षमा दुई वटा नरभक्षी बाघलाई स्थानान्तरण गरेको छ। यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update