प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरूको विवरण सरकारसँग माग गरेको छ ।
समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुङ्गिन बाँकी रहेका विषयमाथि अध्ययन गरिरहेको छ ।
सोही क्रममा समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक साताअघि पत्र लेखेर कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको जनाइएको छ ।
पत्रमा यथाशीघ्र विवरण उपलब्ध गराउनू भने पनि स्वास्थ्य मन्त्रालयले जवाफ नपठाएको समिति सचिवालयले जनाएको छ । नेपालमा कोरोना महामारी फैलिन नदिन २०७६ साल चैतमा सरकारले लकडाउन गरेको थियो ।
त्यही बेला सरकारले आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो ।
तर विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफलसमेत गरेको थियो । तर टुङ्गोमा पुगेको थिएन ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सामग्री खरिद प्रक्रिया कानुनविपरीत भएको प्रतिवेदन समेत दिएको थियो ।
लेखा समितिले ३ पुस २०७७ मा ओम्नी प्रकरणमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।
२०७९ मङ्सिरको चुनावपछि गठन भएको संसद्को सार्वजनिक लेखा समितिले यो विषयमा पुनः छलफल अघि बढाउन खोजेको हो ।