
शेयर कारोबार हुने साताको तेश्रो दिन आज मंगलबार पुनः १०.१० अंकले घटेर बजार १८३७.७१ बिन्दुमा झरेको छ ।
६२ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ ।
आज उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिङ्गटी हाइड्रो इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।
आज बजार घटे पनि कारोबार रकम बढेको छ । हिजो सोमवार १ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालको ३६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
लगातार उही बिन्दु वरपर घुमिरहेको शेयर बजारमा एक दिनको उछाल र लामो समय सामान्य गिरावटको अवस्था देखिएको छ ।
लगानीकर्ताले विश्वासको आधार नभेटेको बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन।
केही दिनको उछाल र केही दिनको गिरावटबीच उतारचढाव भइरहेको बजार अहिले भने तलतिर लागेको छ।
अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको हो।
गएको साता आइतबार ४७ अंकले बढेको बजार त्यसपछिका चार कारोबारमा ४९ अंकले घटेको थियो। यो साता पनि लगातार तीन कारोबारमा बजार घटेको छ ।
आइतबार ७.२९ अंकले घटेको बजार सोमबार ३.४२ अंकले घटेको थियो।
निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढाव भइरहेको हो।
बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।
छोटो समयका लगानीगर्नेहरूले घटेको दिन किन्ने र बढेको दिन पुनः बिक्री गर्ने गरेका छन् ।
२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसेको छ ।