Public Pana
टिकटक चलाउन दिने प्रधानमन्त्रीको आश्वासन

 प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा हुने संकेत गरेका छन् ।

आफ्नो चाहनाले मात्र नभई केपी शर्मा ओली र शेरबहादुर देउवाको जोडबलका कारण सरकारले टिकटकमा रोक लगाएको प्रधानमन्त्री दाहालले बताए ।


सिंहदरबारमा विभिन्न सञ्चार माध्यममा सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भने, ‘पार्टीहरुको बैठक बस्यो कि विपक्षी दलका नेता केपी ओलीले टिकटक कहिले बन्द गर्ने, यसले देश खत्तम पा¥यो भनेको भन्यै गर्ने ।

कांग्रेस सभापतिले पनि टिकटक बन्द गर्न किन ढीलो गरेको भन्ने । मैले दुई महिनासम्म त रोकें, तर भनेको भन्यै गरेपछि बन्द गरियो ।’

टिकटकले अलिकति विसंगति भित्र्याएकै छ जस्तो आफूलाई पनि लागेको प्रधानमन्त्री दाहालले सुनाए । आफ्नै घरभित्र पनि त्यस्तो देखिएको बताउँदै उनले भने, ‘अलिकति विसंगति त भित्रिएकै छ भन्ने मलाई पनि लाग्यो । नाति–नातिनाहरु खाली टिकटकमा‘.।’


सरकारले टिकटक बन्द गर्दा जनतामा भने खुशी नै छाएको प्रधानमन्त्री दाहालले दाबी गरे ।

तर, नागरिक समाज र पत्रकारहरुको सुझावलाई ख्याल गर्दै सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन बनाएर टिकटकलाई नियमन गरिने उनले बताए । प्रधानमन्त्रीले भने, ‘अहिले बन्द गर्नुपरेकाले गरियो, अब नियमनसहित खोल्न सकिन्छ ।’

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update