Public Pana
सुदुरपश्चिमको सीमास्तम्भ मर्मत आजदेखि सुरु

नेपाल भारत अन्तर्राष्ट्रिय सीमास्तम्भको मर्मत सम्भार तथा रङ्गरोगन गर्न शुरु भएको छ ।

सीमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरी बलले कञ्चनपुर र कैलालीमा नेपाल भारत सीमास्तम्भको मर्मत सम्भार आजदेखि गर्न थालेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा एक कार्यक्रमकाबीच नेपाल र भारत दुवैतर्फका अधिकारीहरुले संयुक्त रुपमा सीमास्तम्भ मर्मत सम्भार तथा रङ्गरोगन गर्ने कार्य उद्घाटन गरेका छन्।

सशस्त्र प्रहरीले सीमास्तम्भ मर्मत सम्भार तथा रङ्गरोगनको जिम्मेवारी पाएसँगै पहिलो पटक अन्तर्राष्ट्रिय सीमास्तम्भको मर्मत सम्भार गर्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए।

‘कैलाली र कञ्चनपुरमा पहिलो पटक सीमास्तम्भ मर्मत सम्भारको काम सुरु भएको छ’, उनले भने, ‘सीमास्तम्भलाई यथास्थितीमा राखेर मर्मत गर्दै सीमा चुस्तदुरुस्त राख्ने काम हुन्छ।’

उनका अनुसार बिजोर सीमास्तम्भ नेपाल र जोर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले मर्मत गर्नेछ। कैलालीमा १०३ र कञ्चनपुरमा ६६ स्तम्भ मर्मत गरिने छन्।

सन् २०१४ मा निर्माण भएका स्तम्भ मात्रै मर्मत गरिने सशस्त्र प्रहरीले जनाएको छ। कञ्चनपुरमा ३०९ सीमास्तम्भ छन्।

जसमा मुख्य सीमास्तम्भ ६४, सहायक सीमास्तम्भ २२२ र सानो सीमास्तम्भ १०४ छन्।

कञ्चनपुरमा रंगरोगन गर्नुपर्ने स्तम्भ ३०, सामान्य मर्मत गर्नु पर्ने १६, मध्यमस्तरको मर्मत गर्नु पर्ने १७ र पूर्ण रुपमा मर्मत गर्नु पर्ने ३ रहेका छन्।

मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते सीमास्तम्भको निर्माण, मर्मत सम्भार र पुनर्स्थापना गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update