Public Pana
आज विश्व बजारमा सुनको मुल्य नै भयो महंगो 

सुनको मूल्यले विश्वबजारमा हलचल ल्याएको छ । 
आज सोमबार एसियाली कारोबारका दौडान सुन प्रतिऔँस २ हजार १ सय अमेरिकी डलर मूल्यमा पुगेको हो । 
एजेन्सीहरुका अनुसार सुनको मूल्यले लगातार दोस्रो दिन नयाँ उचाइ लिएको हो। यसले अर्को वर्ष अझै नयाँ कीर्तिमान बनाउने देखिएको छ ।
विश्लेषकहरुले विश्व भूराजनीतिक अनिश्चिततालाई औँल्याउँदै अमेरिकी डलर थप कमजोर बन्ने र सम्भावित ब्याजदर कटौती देखिनसक्ने बताएका छन् । 
इजरायल र प्यालेस्टाइनबीचको युद्धसँगै पछिल्ला दुई महिनायता पहेँलो धातुको मूल्य ह्वात्तै बढिरहेको छ । 
लगानीकर्ताहरुले यस्तो बेला ‘सेफ–हेभन’ सम्पत्तिको रुपमा सुनलाई लिएका छन् भने ब्याजदर कटौतीप्रतिको अपेक्षाले पनि यसलाई समर्थन गरेको छ । 
सुन जहिले पनि आर्थिक तथा भूराजनीतिक अनिश्चितताका बेला महँगो हुने गरेको छ। आगामी वर्षको अन्त्यसम्म सुनको मूल्य प्रतिऔँस २ हजार २ सय अमेरिकी डलर पुग्ने आकलन गरिएको छ । 
सोमबार २१ सय डलर छोएको सुन कारोबार समयमा केही घटेर २ हजार ८४ दशमलव ५९ डलरमा झरेको थियो । 
गत शुक्रबार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा २०७५.०९ डलर प्रतिऔँस मूल्यमा कारोबार भएको थियो। जुन हालसम्मकै एक दिनमा भएको उच्च मूल्य थियो। त्यसअघि सन् २०२० अगष्ट ७ मा २०७२.५ डलर प्रतिऔँसमा कारोबार भएको थियो । 
वर्ल्ड गोल्ड काउन्सिलले भर्खरै मात्र गरेको एक सर्भेले आगामी १२ महिनामा विश्वका कुल केन्द्रीय बैंकमध्ये २४ प्रतिशतले आफ्नो सुन सञ्चिति बढाउन चाहेको देखाएको थियो। यसको मुख्य कारण सञ्चित सम्पत्तिको रुपमा राखिने गरिएको अमेरिकी डलरप्रतिको चिन्तालाई औँल्याएको एजेन्सीहरुले जनाएका छन ्। 
परिणामतः आधिकारिक क्षेत्रबाटै सुनको माग बढ्नथालेको छ। अझ अमेरिकी केन्द्रीय बैंकले अर्को वर्षका लागि गर्नसक्ने नीति फेरबदलले डलरलाई थप कमजारे बनाउने र त्यसले अन्तर्राष्ट्रिय क्रेताहरुलाई सुन सस्तो पर्न जाने विश्लेषकहरुको आकलन छ । 
सन् २०२२ मार्चमा महंगीको सामना गर्न फेडेरल रिजर्भले ब्याजदर बढाएर ४० वर्षयताकै उच्च बनाएको थियो। त्यतिबेला सुनलाई बेवास्ता गरिएको थियो ।
किनकि उच्च ब्याजदरले कुनै पनि ब्याज प्राप्त नहुने सुनको मागलाई कमजोर बनाउँछ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update