Public Pana
साधारण  र धरौटी  तारेखमा रिहा हुने ४ अभियुक्तलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने
फाइल तस्बिर

नक्कली शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशअनुसार रिहा हुन धरौटी रकम बुझाएका तीनसहित चार जनालाई आज सोमबार सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ ।

धरौटी रकम बुझाएका नरेन्द्र केसी, शमशेर मियाँ र हरिभक्त महर्जन तथा साधारण तारेखमा रिहा हुने आषिश बुढाथोकीलाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने भएको हो ।

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा भएकाले त्यहाँ बुझाउन लागिएको हो। सरकारी कर्मचारीलाई भने त्यसपछि अख्तियारमा पनि बुझाइने छ । 

अदालतको आदेशबमोजिम नरेन्द्र केसी र शमशेर मियाँले १०-१० लाख र हरिभक्त महर्जनले १५ लाख रुपैयाँ धरौटी आइतबारै बुझाइसकेका छन।

केन्द्रीय कारागारका प्रमुख ललितकुमार बस्नेतका अनुसार उनीहरुसहित साधारण तारेखमा रिहा गर्न आदेश भएका आषिश बुढाथोकीको रिहाइका लागि आइतबारै पत्र आए पनि ढिला भएकाले सोमबार मात्रै रिहा गरी सम्पत्ति शुद्धीकरण विभागमा पठाउन लागिएको हो। 


उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ अभियुक्तलाई धरौटीमा तथा ४ जनालाई साधारण तारेखमा रिहा गर्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको हो। 

लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेख तथा टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीप रायमाझी र रामशरण केसीलाई धरौटीमा छाड्न आदेश भएको हो।

तर पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणका विषयमा भने दुई न्यायाधीशबीच मत बाझिएपछि निर्णय हुन सकेको छैन। उनलाई धरौटी वा साधारण तारेखमा रिहा गर्ने वा थुनामै राख्ने भन्ने निर्णय गर्न अब तेस्रो न्यायाधीशसमक्ष पेस गरिने भएको छ। 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र रामशरण केसी पनि धरौटी बुझाउने प्रक्रिया आइतबार नटुंगिएकाले आज रिहा हुँदै छन्।

तर शरणार्थी नेता टेकनाथ रिजालको भने धरौटी बुझाउने प्रक्रिया अगाडि बढाइएको छैन।

उनलाई उच्च अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update