Public Pana
गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको  नाट्टाद्वरा माग

नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नेपाल वायु सेवा निगममा ज्ञापनपत्र बुझाएको छ ।

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न गराउन माग गर्दै नाट्टाले निगममा ज्ञापनपत्र बुझाएको हो ।

नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्वअध्यक्ष सञ्जीव जोशीको नेतृत्वमा काठमाडौँ गएको टोलीले निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई ज्ञापनपत्र बुझाउँदै जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै नायब महाप्रबन्धक कालाखेतीले यसमा निगम सकारात्मक रहेको र सरकारले सहजीकरण गरेमा सञ्चालनमा लाग्ने जानकारी दिएको प्रतिनिधिमण्डलका एक सदस्यले बताएका छन् ।

कालाखेतीले निगमसँग चार वटामात्रै जहाज भएकाले केही समस्या भएको तर व्यवसायीले चासो राखेमा उडान पहल गर्ने बताएका थिए ।

४३ अर्बभन्दा बढी लगानी गरेको भैरहवा विमानस्थलमा निगमले भैरहवा–काठमाडौँ र भैरहवा–दिल्ली उडान गरेमा फुल बुकिङ गराउन सिङ्गो नाट्टा र ट्राभल्स व्यवसायी लागिपर्ने प्रतिनिधिमण्डलले बताएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update