Public Pana
एमाले मुगुको नेतृत्व चयन भएनी  विवाद

नेकपा (एमाले) जिल्ला कमिटी मुगुको नेतृत्व विवादै विवादका बीचमा चयन भएको छ । नवौँ जिल्ला अधिवेशनबाट एमाले मुगुले नयाँ नेतृत्व चयन गरेको हो ।

केन्द्रको निर्देशनअनुसार एमाले मुगुले देशमै सबैभन्दा पहिला अधिवेशन गरेको थियो। तर, सर्वसम्मत रुपमा चयन भएको भनिएको नयाँ नेतृत्वप्रति अधिकांश प्रतिनिधि रुष्ट भएका छन् ।  

जिल्लाभरबाट अधिवेशनका लागि ३७४ जना प्रतिनिधिहरु छनौट भएका थिए। ती मध्ये ६० प्रतिशत प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनप्रति विरोध जनाएका हुन्।
 
मंसिर ९ गते एमालेका महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीलगायतका नेताहरूको सहभागीतामा अधिवेशनको उद्घाटन गरिएको थियो। मंसिर ९ गते दिउँसो तीन बजेबाट सुरूभएको अधिवेशनको उद्घाटन सत्र सोही दिनको साँझ ६ बजे सकिएको थियो।

उद्घाटन सकिए लगतै सुरू भएको अधिवेशनको बन्द सत्र भने मंसिर ९ गते रातिबाट मंसिर १४ गते बेलुकासम्म चलेको थियो। उक्त अधिवेशनले पूर्ण रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा रत्नसिंह विष्ट, सचिवमा सुरेन्द्र मल्ल, उप–सचिवमा मदन बानियाँ र उप–सचिव समावेशीमा हैजली वि.क सर्वसम्मत चयन भएका भनिएको छ।

एमाले मुगुको नेतृत्व लिनका लागि तीन जना नेताले अध्यक्ष पदमा दाबी गरेका थिए। नवनिर्वाचित रोकायासँगै डम्बरबहादुर रावल र डिलबहादुर मल्लको अध्यक्ष पदमा दाबी थियो। अन्य पदमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि अध्यक्षमा तीन जनाको दाबी रहेपछि उक्त पदमा निर्वाचन हुने निश्चित भएको थियो। 

अधिवेशन सफल बनाउन मुगु पुगेका नेताहरुले निर्वाचन नगरेर सर्वसम्मत नेतृत्व चयन गर्नेतर्फ ध्यान दिँदा अधिवेशन लम्बिदै गएको थियो। 

त्यसमा पनि मुगु घर भएका एमालेका पोलिटब्यूरो सदस्य मोहन बानियाँ एमाले मुगुको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि प्रतिनिधिहरुले विरोध जनाएका थिए।

बानियाँलाई एमाले पार्टीले जुम्ला जिल्लाको इन्चार्जको जिम्मेवारी तोकेको छ। तर, उनी आफ्नो छोरालाई पदाधीकारीमा ल्यानका लागि निर्वाचन मण्डलको अध्यक्ष बनेपछि विवाद सुरु भएको थियो। निर्वाचन मण्डलको सदस्यहरुमा राजबहादुर बुढा, गुलावजंग शाह, जीतबहादुर मल्ल, सेजुङ लामा, दानसिंह परियार र राजबहादु कार्की रहेका थिए। 

सहसचिवमा सर्वसम्मत चयन भएका भनिएका मदन बानियाँ मोहन बानियाँका छोरा हुन् भने सचिव सुरेन्द्र मल्ल मुगुका निवर्तमान अध्यक्ष जीतबहादुर मल्लका भाइ हुन्। 

बानियाँ अध्यक्ष मण्डलको अध्यक्ष बनेपछि प्रतिनिधिहरुले विवाद गरेका थिए। 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update