Public Pana
कुनै पनि सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन  :  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप– २८) मा अवसरमा शनिबार उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गर्नुभएको उच्चस्तरीय कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र सङ्कट आइसकेको छ।’

उनले यस सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘यो हाम्रो न्यायको विषय हो र अधिकारको विषय पनि हो।’ सबै मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिनेमा उनको जोड थियो।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो सम्बोधन गर्न लाग्नुपर्ने बताए।

‘मैले आफैँले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु। अब यसमा ढिला भइसक्यो। सम्बोधन गर्न सबै लाग्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आयोजना गर्नुभएको कार्यक्रममा महासचिव, एन्डोराका प्रधानमन्त्री, किर्गिस्तानका मन्त्री, भुटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्च अधिकारी, वैज्ञानिकलगायतले पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएका थिए। यही मङ्सिर १४ गतेदेखि सुरु भएको कोप– २८ सम्मेलन मङ्सिर २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म चल्नेछ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १ दशमलव ८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ।

उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डारहरू पग्लने अनुमान अध्ययनहरूले गरेका छन्।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले जलवायु संकटका विषयमा गोलमेच बैठकको आयोजना गरेका छन्।

‘द माउन्टेन्सः हु सेभ्स अस फ्रम द क्लाइमेट क्राइसिस’ विषयमा उच्चस्तस्तरीय बैठकमा उनले आफ्नो सम्बोधनसहित अध्यक्षता गरेको उनको सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८)का लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा पुगेका उनले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको कार्यक्रममा छुट्टै बैठकको अध्यक्षता  गर्दै उच्चस्तरीय गोलमेच गरेको यो पहिलोपटक हो। 

बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटरेसले विशेष सम्बोधन गरेका छन् भने युरोपेली मुलुक एन्डोराका प्रधानमन्त्री जाभी एस्पट जामोरा, गणतन्त्र किर्गिसका विदेशमन्त्री र भुटानका विदेश सचिवले पनि सम्बोधन गरेका छन्।

बैठकमा नेपालदेखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसीसीआई, इसिमोडलगायतका अन्तर्राष्ट्रिय संस्थासँगग आबद्ध विषयविज्ञद्वारा प्रस्तुतीकरण गरिएको छ भने संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठनका महानिर्देशक डा क्यु डोङयुले जलवायु परिवर्तनले कृषि तथा खाद्य प्रणालीमा पारेको प्रभावबारे चर्चा गरेका थिए।

COP-28--21701506683.jpg

COP-28_1701506657.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update