Public Pana
पोखरामा सैनिक आवासीय महाविद्यालय भवन शिलान्यास

प्रधान सेनापति महारथी प्रभुराम शर्माले सैनिक आवासीय महाविद्यालय, पोखराको नयाँ भवन शिलान्यास गरेका छन् ।

महाविद्यालयको १९औँ वार्षिकोत्सवको अवसरमा आज सो महाविद्यालयमा बीबीए पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास गरिएको हो ।

नेपाली सेनाको कल्याणकारी योजना मातहत सञ्चालित उक्त महाविद्यालयमा आज आयोजित कार्यक्रमकाबीच बीबीए पठनपाठनको औपचारिक थालनी समेत भएको छ ।

महाविद्यालयको वार्षिकोत्सवको अवसरमा आज आयोजित समारोहमा विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। त्यस अवसरमा प्रधान सेनापतिले उक्त महाविद्यालयको वार्षिक मुख पत्र फूलबारी विमोचन गरेका थिए ।

यस्तै, महाविद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरे ।

सो अवसरमा प्रधान सेनापतिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डीन, प्राध्यापकवर्ग, जनप्रतिनिधि, रथीवृन्द, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, महाविद्यालयका प्रिन्सिपल तथा शिक्षक लगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update