Public Pana
‘बैंक अफ दि इयर २०२३’ को अवार्ड पायो प्रभु बैंकले 

प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ प्रभु बैंकले प्राप्त गरेको हो ।


बिहीबार बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् । 


साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर बैंकिङ्ग अभ्यास गरेको भन्दै अवार्ड दिइएको हो ।


फाइनान्स कम्पनीबाट विकास बैंक हुँदै वाणिज्य बैंक बनेको प्रभुले पहिलो पटक उक्त अवार्ड प्राप्त गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी रुपमा बैंकिङ उद्योगको ओस्कार मानिन्छ ।


अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।


अध्यक्ष सिटौलाले नेपालको बैंकिङ्ग प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए । ‘वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ्ग क्षेत्रमै हैसला प्रदान गरेको छ, हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ,’ उनले भने ।


सीईओ शेरचनले बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकहरूको साथले सम्मान प्राप्त गर्न सफल भएको बताए ।

‘यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु, आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ,’ उनले भने ।


२००६ सालमा प्रभु फाइनान्सबाट सेवा सुरु गरेको बैंकले ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटीएममार्फत् देशव्यापी ३१ लाख भन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ ।
हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update