
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को यस वर्षको सेजन ब्रोडकास्टिङ मिडिया अवार्डबाट उज्यालोकर्मी अर्जुन पोख्रेल पुरस्कृत भएका छन् ।
सेजन डे अर्थात् २७ औं वार्षिकोत्वसको अवसरमा आज शुक्रवार काठमाण्डौमा भएको कार्यक्रममा पोख्रेलले विधागतर्फ सेजन ब्रोडकास्ट अवार्ड प्राप्त गरेका हुन् ।
नेपालको आर्थिक, सामाजिक विकास एवम् सुशासन प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान पु¥याएकोमा पोख्रेल पुरस्कृत भएको सेजनले जनाएको छ ।
सेजनले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट समाचारलाई प्रदान गर्ने सेजन अवार्ड यस वर्ष कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्तरूपमा प्रदान गरेको छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण’ बारेको समाचारका लागि दाहाल र भट्टराईलाई सेजन अवार्ड प्रदान गरिएको निर्णायक समितिका सदस्य एवम् पूर्वसचिव कृष्ण ज्ञवालीले जानकारी दिए ।
भोला चालिसे लिबरल जर्नालिजम अवार्ड हिमाल खबरका रमेशकुमार न्यौपानेलाई दिइएको छ । त्यस्तै सेजन डिजिटल मिडिया अवार्ड क्लिकमान्डुका राजेश बर्मा, सेजन छापा माध्यम अवार्ड नयाँ पत्रिका दैनिकका मुना कुँवर तथा स्वः सञ्जय न्यौपाने, रिसर्च ग्रान्ट कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ ।
सेजन डेका अवसरमा वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन भएको छ ।