Public Pana
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने !

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज शुक्रबार उच्च अदालत पाटनबाट आदेश आउने सम्भावना रहेको छ । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार हिजो बिहीबार बहस सकिएकोले आज आदेश आउने सम्भावना छ । 

मुद्दामा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलाशमा निरन्तर सुनुवाइ हुँदै आएको थियो ।​

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी नेता टेकनाथ रिजालसहित १६ जना प्रतिवादीलाई कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । 

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले २०८० असार १ गते उक्त आदेश गरेको थियो । १८ जना प्रतिवादी रहेकोमा लक्ष्मी महर्जन र टंक गुरुङबाहेक १६ जनालाई कारागारमा थुनामा राखी मुद्दाको अनुसन्धान गर्न आदेश गरेको थियो । महर्जन र गुरुङलाई धरौटी तारेखमा छाडिएको थियो ।​

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र रायमाझीका छोरा सन्दीप रायमाझी, बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जन जिल्ला अदालतको आदेशले कारागारमा थुनामा छन् ।

जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्ने निवेदन लिएर प्रतिवादीहरू उच्च अदालत पाटन पुगेपछि जिल्ला अदालतको आदेश उपर सुनुवाइ हुँदै आएको हो ।

उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशलाई सदर गर्न सक्ने, बदर गर्न सक्ने, केही उल्टी हुन सक्ने मध्ये कुनै एक आदेश गर्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update