Public Pana
साताको पहिलोदिनको वृद्धिपछि साताभर ओरालो बजार 

यो साता पहिलो कारोबारमा उछाल देखिएको शेयर बजारमा त्यसपछिका सबै कारोबार ओरालो लागेको छ ।


साताको पहिलो दिन आइतबार ४७ अंकले बढेको बजार त्यसपछिका चार कारोबारमा ४९.४३ अंकले घटेको हो । 


गएको साता अन्तिम कारोबार सुधारतर्फ देखिएको सेयर बजारमा यो साता वृद्धिमा साथ मिल्नेगरी लामो समयपछि आइतबार ४७.७५ अंकले बढेको थियो । तर त्यसपछि लगातार घट्यो।

सोमबार ११.२७ अंकले घटेको बजार मंगलबार २.१७ अंकले घट्यो। बुधबार १७.९३ अंकले घटेको बजार बिहीबार पुनः १८.०६ अंकले घटेको छ ।


बिहीबार १८.०६ अंकले घटेर बजार १८५८.५३ बिन्दुमा झरेको छ। ३२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । 


सुधारको अपेक्षाविपरीत लामो समयदेखि बजार धरमर गरिरहेको छ। कारोबार पनि लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ ।  


अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको छ। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन् ।


सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् ।


अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी छैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update