Public Pana
आज नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस, फैसला आउने सम्भावना बढी 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणको आज बिहीबारबाट प्रतिवादीका तर्फबाट जवाफी बहस सुरु हुँदैछ ।


प्रतिवादीतर्फका कानुन व्यवसायीहरुलाई उच्च अदालत पाटनमा बिहीबारबाट जवाफी बहस सुरु गर्दैछन्। यसअघि हिजो बुधबार मात्रै सरकारी पक्षको बहस सकिएको थियो ।

सरकारी पक्षबाट बुधबार ४ जना सरकारी वकिलले बहस गरेका थिए। सरकारी वकिलहरु सहन्यायाधिवक्ता शंकर खत्री तथा महेश खत्री, उपन्यायाधिवक्ता प्रकाश न्यौपाने र सहायक न्यायाधिवक्ता ममता श्रेष्ठले बहस गरेका थिए ।


सरकारी पक्षले प्रतिवादीहरुलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए। त्यसको जवाफी बहस गर्दै बिहीबार प्रतिवादीका वकिलहरुले थुना बाहिरै राखेर मुद्दाको किनार लगाउनु पर्ने तर्कसहित बहस गर्नेछन्।

यसअघि मंगलबार निवेदक (मुद्दाका प्रतिवादी) पक्षका कानुन व्यवसायीले आफ्नो पक्षको बहस सकाएका थिए। 


आज बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस आजै बिहीबार सक्ने तयारी गरिएको छ ।

बिहीबार जवाफी बहस सकिएको अवस्थामा आजै वा भोलि शुक्रबारसम्म फैसला आउने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update