Public Pana
एमाले अध्यक्ष ओलीद्धारा महाकाली–मेची पदयात्राको उद्घाटन

नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रा बैतडीको झुलाघाटाबाट सुरु भएको छ ।

महाकाली किनार झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरेका छन् । 

पदयात्रा कार्यक्रममा सहभागी हुन एमालेको केन्द्रीय पदाधिकारीसहित शीर्ष नेतृत्व बुधबार बेलुका नै बैतडी पुगेको थियो ।

बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्राको उद्घाटनका लागि पुगेका थिए । 

कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको छ ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्य पहाडी लोकमार्गको पदयात्रा सुरु गरेको हो ।  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसहित एमालेको शीर्ष नेतृत्वको आउजाउलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था कडा पारिएको  छ । 

पदयात्राका क्रममा बैतडीको गोठालापानीमा बिहीबार आमसभाको आयोजना गरिएको छ। 

त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथ चन्दको घरमा पुगेर शालिकमा माल्यार्पणलगायत कार्यक्रममा पनि ओली सहभागी हुनेछन् । 


पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। त्यसपछि मंसिर १५मा डोटीको सिलगढी र मंसिर १६मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update