Public Pana
आज एमालेले मध्यपहाडी पदयात्रा बैतडीमा शुरु गर्दै

नेकपा एमालेले आजदेखि मध्य पहाडी लोकमार्ग हुँदै मेची महाकाली पदयात्रा सुरु गर्दैछ ।

आज बिहीबार बिहान बैतडीको झुलाघाटमा एक समारोहकाबीच एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्दै छन् । त्यसका लागि अध्यक्ष ओली हिजो बुधबारै बैतडी पुगेका हुन् ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्गको यात्रा सुरु गर्न लागेको हो।

यात्राको तयारी एमालेले निकै तामझामसहित गरेको छ। पार्टीको झण्डा र व्यानगरले बैतडीका ठाउँठाउँ रंगिएका छन्।

गएराति बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओलीले आज पदयात्राको उद्घाटन गर्ने तयारी छ। 

नेपालको पश्चिमी बिन्दु झुलाघाटमा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेर ओलीसहितको टोली पूर्वतर्फ लाग्ने छ।

झुलाघाटदेखि सुरु हुने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गको यात्रा पूरा गरेर पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिने एमालेले जनाएको छ। 

यात्राका क्रममा एमालेले ठाउँठाउँमा आमसभाको आयोजना गर्नेछ। पदयात्राको टोली आज पहिलो दिन डडेल्धुराको अमरगढीमा पुगेर बास बस्ने कार्यक्रम छ। 

त्यसपछि मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ।

सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डोटी र अछाममा पनि आमसभाको आयोजना गर्ने एमालेको तयारी छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update