Public Pana
पति र ससुराद्धारा २ महिलाको हत्या

सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ ।

सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो ।


सञ्जिताको हत्या आरोपमा उनका श्रीमान ४० वर्षीय देवेन्द्र यादव र संगीताकुमारीको हत्या आरोपमा ससुरा ५१ वर्षीय रामअशिष दास पक्राउ परेका छन् । 


पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।


सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार ७ मंसिरको राति १० बजे देवेन्द्रले बाँसको भाटा र इँटाले सञ्जितमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट उनको मृत्यु भएको थियो । घटना ढाकछोप गर्न उपचार गराउन भन्दै भारतको जयनगरतर्फ लगेपछि छिमेकले प्रहरीलाई जानकारी गराएको र अनुसन्धानबाट हत्या गरेको खुलेको डीएसपी पाण्डेले बताए ।


प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०÷३५ किलोमिटर टाढा भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँबाट सञ्जिताको शव बरामद गरेको थियो ।

देवेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ ।


त्यस्तै कल्याणपुर नगरपालिका–८ मा घरायसी विवादको क्रममा ससुरा दासले टाउकोमा बञ्चरो प्रहार गर्दा बुहारी संगीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि फरार रहेका दासलाई प्रहरीले मंसिर १ गते पक्राउ गरेको थियो । उनलाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update