Public Pana
रंगकर्मी विमललाई थाइल्याण्डमा क्रियटिभ डाइरेक्टरको अवार्ड 

रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा भएको हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा मोस्ट क्रियटिभ डाइरेक्टरको अवार्ड प्राप्त गरेका छन् ।


इ प्लानेट इन्टरनेसनल सिंगापुर र थाइल्याण्डको संस्थाले आयोजना गरेको यस अवार्डका लागि संसारभरका ३० बढी देशबाट ८९७० दाबेदार थिए। सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पारेका हुन् ।


केन्याका राजदूत लिन्ड्से किमवलकिपतिनेस र मंगोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रुपमा विमल सुवेदीलाई अवार्ड हस्तान्तरण गरेका थिए । 


विमलले यसघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र गत वर्ष मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरेका थिए। यसबाहेक उनका कामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विभिन्न अवार्डहरु हात पारिसकेका छन्। अभिनयबाट आफ्नो यात्रा सुरु गरेका विमल सुवेदी, नाट्य निर्देशनमा अत्यन्त सफल निर्देशक मानिन्छन्। 


दिल्लीको नेसनल स्कुल अफ ड्रामाका ग्रयाजुएट विमल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित नाम हो।

उनको लेखन तथा निर्देशन रहेका नाटक २५ भन्दा बढी देशका मञ्चमा प्रस्तुत भइसकेका छन्।

उनले विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयतथा संघ संस्थाहरुसँग सहकार्य गरिसकेका छन्। विमल सुवेदी थिएटर भिलेज नेपालका फाउण्डर तथा निर्देशक पनि हुन्। थिएटर भिलेज नेपालमा नयाँ शैलीका नाटक मञ्चन गर्ने समूहको रुपमा स्थापित छ। 


विमलका नाटकमा मनोरञ्जनभन्दा पनि सामाजिक अवस्था, राजनीति, सीमान्तकृतका आवाज तथा समसायिक कुराहरुको मिश्रण पाइन्छ। यही कारण उनका नाटक देशसँगै विदेशका मञ्चमा पनि प्रशंसित छन् । 


सन् २०१३ मा विमलले थाइल्याण्डमा ४ हजारभन्दा बढीको संख्यामा रहेका महिला कैदीलाई थाइल्याण्डकै केन्द्रीय जेल भित्रै थिएटर फर रिह्याविलिटेसन वर्कसप गरेका थिए।

जसले उनीहरुमाथि परिवर्तनकारी काम गरेको थियो र यसको थाइल्यान्डको प्रेसले पनि प्रशंसा गरेको थियो।

विमलका यस्ता धेरै कामहरु र उनका २० वर्ष लामो योगदानको कदर गर्दै थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत, मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्राप्त गरेका हुन्।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update