Public Pana
रुसी सेनामा कार्यरत पाँच नेपालीको मृत्यु 

रुस–युक्रेन युद्धमा पछिल्ला साढे चार महिनामा रुसी सेनामा कार्यरत पाँचजना नेपाली मारिएका छन् ।

 रुस–युक्रेन युद्धमा मारिने नेपालीमा कपिलवस्तु बाणगङ्गा–१ का रुपक कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार रोक्का र स्याङ्जाका प्रितम कार्की छन् ।


रुसको मस्कोस्थित नेपाली दूतावास स्रोतका अनुसार रुपक कार्की र थपलियाको गत असारमा मृत्यु भएको थियो । मोक्तान, रोक्का र प्रितम कार्कीको कात्तिक २९ गते मृत्यु भएको थियो । 


रुसी सेनाले मस्कोस्थित नेपाली दूतावासलाई मारिएका नेपालीका बारेमा जानकारी गराउँदै शव नेपाल पठाउन सहजीकरणका लागि अनुरोध गरेको  छ ।

रुसी सेनाले गरेको अनुरोधमा मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागलाई पत्र पठाउँदै शव नेपालमा रहेका उनीहरूको परिवारसम्म पु¥याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।


 दूतावासले असारमा मारिएका दुईजनाको शव व्यवस्थापनका लागि कात्तिक ३ गते र कात्तिकमा मारिएका तीनजनाको शव व्यवस्थापनका लागि मंसिर ८ गते कन्सुलर सेवा विभागलाई पत्र पठाएको थियो ।


 “प्रस्तुत् विषयमा तपशिलमा उल्लेख नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,” मस्कोस्थित नेपाली दूतावासले कन्सुलर सेवा विभागलाई लेखेको पत्रमा उल्लेख छ ।


शव व्यवस्थापनलगायत कार्यमा परिवारसँग समन्वय गर्नु पर्ने भएकाले रुसी सेनाबाट प्राप्त मेडिकल डेथ सर्टिफिकेट र सो को औपचारिक अंग्रेजी अनुवाद एवं अन्य कागजातहरू दूतावासले विभागलाई पठाएको छ ।


“शवको तत्काल व्यवस्थापनका लागि निजहरूको परिवार र यस राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन समेत अनुरोध छ,” पत्रमा भनिएको छ ।


पाँचैजना युक्रेनसँगको युद्धको क्रममा मारिएको जनाइएको छ । 


यसअघि नेपालले रुसी सेनामा नेपाली युवा भर्ती भएको कुरालाई स्वीकार गरेको थिएन ।

तर दूतावासले विभागलाई पठाएको पत्रमा स्पष्ट शब्दमा रुसी सेनामा कार्यरत रहेको अवस्थामा नेपाली युवाको मृत्यु भएको उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update