Public Pana
गोल्छा र चौधरी समूह आमनेसामने

नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी सरगर्मी बढेको छ ।

अटोमोबाइल व्यवसायीहरू बिच नाडाको भावी नेतृत्व हत्याउने तयारी अनुरूप भित्रभित्र तयारी भइरहे पनि सोमबार नाडाको निर्वाचन मिति घोषणा भएपछि थप माहौल तातेको हो । 


अध्यक्ष ध्रुव थापा नेतृत्वको नाडाको वर्तमान कार्यसमितिले नाडाको निर्वाचनसहितको ४७औँ वार्षिक साधारण सभा आगामी पुस २० र २१ गतेलाई ताकेको छ । निर्वाचन मिति घोषणा भएसँगै यता नाडाको नेतृत्व चाहने दुईवटा समूहले आ–आफ्नो तयारीमा जुटेको हो । 


नाडाको भावी नेतृत्वलाई लिएर दुई ठुला व्यावसायिक घराना चौधरी ग्रुप र गोल्छा ग्रुप एक आपसमा आमनेसामने हुने करिब पक्का भएको छ । गोल्छा अर्गनाइजेशनको तर्फबाट व्यवसायी आकाश गोल्छाले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् भने चौधरी ग्रुपको तर्फबाट सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरीले पनि आफ्नो उम्मेदवारी दिने भएका छन् । 


अध्यक्षका आकाङ्क्षी चौधरी अघिल्लो पटकको निर्वाचनमा अध्यक्ष ध्रुव थापासँग पराजय बेहोरेका थिए । यसैले पनि करण चौधरी यस पटकको निर्वाचनमा बाजि मारेर अघिल्लो पटकको हारको बदला लिन चाहन्छन् । यद्यपि, हालसम्म चौधरी र गोल्छा दुवैले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् ।

कसलाई कुन व्यावसायिक घरानाको समर्थन ?

प्रारम्भिक चरणमा निर्वाचनमा होमिने तयारीमा रहेका दुवै समूह चौधरी ग्रुप र गोल्छा ग्रुपको निर्वाचन समीकरण ५०-५० कै स्थितिमा देखिएको छ । तथापि, यी दुवै पक्षले आफ्नो बलियो पकड बनाउन ठुला व्यावसायिक समूहलाई आफूतर्फ तान्ने कसरत गरिरहेका छन् । 

करण चौधरीलाई ठुलो व्यावसायिक घराना टाटा मोर्टर्स (सिप्रदी लिमिटेड) ले समर्थन गरेको छ । उसो त चौधरीको चर्चा अघि सिप्रदीबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ नै अध्यक्षमा लड्ने चर्चा चलेको थियो । तर, पछिल्लो समय श्रेष्ठकै समर्थनमा चौधरीलाई मैदान खाली गरिएको बताइन्छ । 

‘अध्यक्षमा राजनबाबु उठ्ने भएपछि स्वाभाविक केही विवादहरू उठ्ने भए । उहाँले पनि पछि इच्छा देखाउनु भएन’ स्रोतले रातोपाटीसँग भन्यो, ‘चौधरी उठ्दा विवाद नआउने भएपछि राजनबाबुले चौधरीलाई समर्थन गर्न तयार भएका हुन् ।’ अर्को पटकलाई तयारी गर्ने गरी सिप्रदीका सीईओ राजनबाबुले चौधरीलाई मैदान छाडेको  भनाई छ । 

यस्तै, अन्य ठुला व्यावसायिक घराना आईएमई ग्रुप, ज्योति ग्रुप, एमएडब्लू, संघाई ग्रुप, विशाल ग्रुपसहित ओम्नी ग्रुपको समेत चौधरीलाई समर्थन रहेको स्रोतको दाबी छ । 

यता गोल्छा अर्गनाइजेशनबाट अध्यक्ष लड्ने तयारीमा रहेका व्यवसायी आकाश गोल्छालाई ठुलो कम्पनी लक्ष्मी हुण्डाईसहित साइमेक्स इंक (बीवाईडी), फोर्स गाडीका लागि हिमालयन इन्भेष्ट एण्ड डेभलपमेन्ट कम्पनीसहित गोल्छा अर्गनाइजेशनका आफ्ना चेन कम्पनीहरू र अन्य कम्पनीहरूको समेत गोल्छालाई समर्थन रहेको बताइएको छ । 

हिमालयन इन्भेष्ट एण्ड डेभलपमेन्ट कम्पनी नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाको आफ्नै कम्पनी हो । यसो हुँदा वर्तमान अध्यक्ष थापाको समेत समर्थन गोल्छालाई रहने देखिन्छ । उसो त अध्यक्ष थापा र गोल्छा व्यावसायिक पार्टनर समेत हुन् । 

तर, यता आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेर नाडाको नेतृत्वबाट बाहिरिँदै गरेका अध्यक्ष ध्रुव थापा आफूले सर्वसम्मत नेतृत्व चाहेको बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update