Public Pana
कोशी प्रदेशमा आज बन्दका कारण सर्वसाधारणलाई सास्ती

पहिचानवादी पक्षधरले आज आह्वान गरेको बन्दका कारण कोशी प्रदेशको मेची राजमार्गमा सवारीसाधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् ।


बन्दका कारण मेची राजमार्गको फिदिम–ताप्लेजुङ र फिदिम –इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । पहिचान पक्षधरहरुले ठाँउ ठाँउमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन् ।


‘कोशी’ नाम विरुद्व आन्दोलन गरिरहेको ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले राजमार्ग बन्द गरेको हो । दुई दिनअघि ताप्लेजुङ आएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झन्डा देखाउनका साथै गाडी तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेका २ जना पहिचानवादी कार्यकर्ता रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको हो ।


प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको संघर्ष समितिको दाबी छ ।


प्रहरीले भने शान्ति सुरक्षा बिथोलेका कारण उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।


पहिचान पक्षधर नेता सागर केरुङले प्रहरीले २ जनालाई पक्राउ गर्नका साथै ३ जनालाई झुटो आरोप लगाएको दाबी गरे ।

माग सम्बोधन नभए बन्द, हड्ताल र बिरोधका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update