Public Pana
केपी ओली कप :  पुलिस सुदूरपश्चिमसँग हार्यो 

मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै मधेस समूह ’सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।


मधेस प्रदेश, नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको समान २ अङ्क भए पनि नेट रन रेटमा अघि रहँदै मधेस सेमिफाइनलमा पुगेको हो ।


आज मङ्गलवार पोखरा रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले पुलिसलाई ४ विकेटले हरायो । पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो ।

सुदूरपश्चिमका किरण ठगुन्नाले नट आउट ५१ र नरेन साउदले ३९ रन बनाए । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनायो । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकाश आग्रीले २ विकेट लिए ।


यसअघि समूह ’ए’ बाट बाग्मती प्रदेश, समूह ’बी’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा पुगेको थियो । अब समूह ’डी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update