Public Pana
नक्कली शरणार्थी प्रकरण : वकिलकाे जिकिर वादल र प्रेम राईलाई पनि मुद्दा चलाउनु पर्छ !

उच्च अदालत पाटनमा सुनुवाई भइरहेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनि भएको ठगी प्रकरण सम्वन्धी मुद्दाको सुनुवाई चलिरहेको छ।

गत सातादेखि शुरु भएको सुनुवाईमा निवेदकका कानुन व्यवसायीले वहस गरिरहेका छन् । आइतबार पूर्वगृहमन्त्री खाणका कानुन व्यवसायीले वहस थालेका थिए । उनीहरुको वहस नसकिएकाले निरन्तर राखिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगेन्द्र कट्टेलले बताए ।

खाणको पक्षमा वहस गर्न बरिष्ठ अधिवक्ताहरुले नाम लेखाएका थिए । नेपाल बारका पूर्व हरिहर दाहाल,प्रेमबहादुर खड्का,खम्वबहादुर खाती, बद्रीबहादुर कार्की र ललित बस्नेतले वहस गरेका छन् ।

बारका पूर्व अध्यक्ष शेरबहादुर केसी,वार अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका अन्य बरिष्ठ अधिवक्ताहरु वहसका लागि वाँकी छन् । आइतबारको वहसका क्रममा उनीहरुले मुख्य रुपमा तीन कुरा उठाएका थिए ।

वहसका क्रममा बरिष्ठ अधिवक्ताहरुले गृहमन्त्रीको रुपमा खाणको समयमा मात्र यो प्रकरण नभएकाले त्यसअघिका गृहमन्त्रीहरु किन छानविनमा आएनन, तत्कालीन सचिव प्रेमकुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तप्रेम राईलाई किन मुद्दा दायर भएन र रकम नै लेनदेन पुष्टि नभएकाले ठगीको अभियोग पुष्टि नै नहुने दावी गरे ।

उनीहरुले यदि खाणको संलग्नता वा दोषी मान्ने हो भने त्यसअघिका गृहमन्त्रीहरुलाई पनि मुद्दा दायर हुनुपर्ने नत्र कसैलाई छानेर मुद्दा चलाउनु पूर्वाग्राही हुने तर्क अघि सारे । खाणको पक्षमा वहस सकिएपछि अर्का पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतका प्रतिवादीहरुको तर्फवाट वहस हुने छ।

आइतबार नै मुख्य अभियुक्त केशव दुलालको पक्षमा पनि वहस भएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम सगठित अपराधसहित पाँच अभियोगमा अदालतमा दायर गरिएको अभियोग पत्रमा २८ करोड ८१ लाख रुपैयाँको बिगो र उनीहरुलाई अघिकतम कैदको माग गरिएको छ।

उच्च अदालतका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दै राखेर सुनुवाई भईरहेको छ। काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई त्रुटीपूर्ण भएको भन्दै वेरितको निवेदन दिएका थिए । उक्त निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ शुरु भएको थियो ।

उक्त सुनुवाई यो साताभरी चल्ने उच्च अदालतका रजिष्ट्रार कट्टेलले बताए । सरकारी पक्षले पनि वहसका लागि समय माग गरेकाले यो सातासम्म सक्ने तयारी अदालतको रहेको उनले बताए ।

सरकारी बकिलले उच्च अदालत सरकारी बकिल कार्यालयका प्रमुख शंकर खत्रीको नेतृत्वमा पाँच जनाको टोलीले वहसको तयारी गरिरहेका छ। उनीहरुको वहसपछि निवेदकहरुले जवाफी वहस गर्ने छन् अनि मात्र इजलासले जिल्ला अदालत काठमडौको थुनामा पठाउने आदेशलाई सदर गर्ने वा बदर गर्ने निर्णय सुनाउने छ।

उच्चले सदर गरेमा उनीहरु थुनामै रहन्छन बदर गरेर धरौटी माग गरेमा अदालतले माग गरेको धरौटी वुझाएर रिहा हुने छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update