Public Pana
ट्राफिक बत्ती बालेर पैदल यात्रुले बाटो काट्न थाले, अब केहि दिनमा अण्डर पास वे

काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।


आज सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट १० लाख रुपैयाँ लागतमा राखिएको हो ।


सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताए। प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने पोखरेल बताउँछन् ।


‘काठमाडौँ महानगरपालिकाद्वारा आमनागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यसलाई थिचिसकेपछि यसले सहज रूपमा जुन तोकिएको समय छ अहिले ३० सेकेण्ड राखिएको छ, त्यो थिचेपछि ५ सेकेण्ड कुुर्नुपर्छ, त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदलयात्रुका लागि,’ पोखरेल भन्छन्, ‘३० देखि ३५ सेकेण्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ । प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ । त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।’


बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले भने अल्पकालीन रूपमा जेब्रा ट्राफिक राखे पनि दीर्घकालीन रूपले यो ठूला सडकमा अर्थपूर्ण नहुने बताउँछन् ।

यसका लागि जनप्रतिनिधिहरूले अण्डर पास वे बाटो बनाउने तयारी गरिरहेको उनले बताए ।


‘ट्राफिक लाइट अहिले अल्पकालीन रूपमा जेब्रा ट्राफिक लाइटले राम्रै हुने विश्वास लिएको छु । दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण रहँदैन,’ सांसद श्रेष्ठले भने ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update