
महसुल नतिरेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटिएको छ महसुल नतिरेपछि दाङको देउखुरीस्थित मन्त्रालयमा मंसिर ५ गते विद्युत लाइन काटिएको हो ।
जडान भएको विद्युत लाइन काटिएपछि मन्त्रालय पाँच दिनदेखि विद्युतविहीन छ । हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाजसमेत प्रभावित भएको छ ।
रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको प्राधिकरणको लमही शाखाले जनाएको छ ।
कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा रहेको मन्त्रालयको नाममा जडान भएको विद्युतको दुई लाख ७२ हजार २६४ रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी छ ।
देउखुरीमा रहेको मन्त्रालयको नाममा जडान विद्युतको भने एक रुपैयाँ पनि बाँकी बक्यौता छैन ।
रकम भुक्तानी गर्ने विषयमा मन्त्रालय जिम्मेवार नभएपछि बाध्य भएर विद्युत कटौती गर्नुपरेको रावतले बताए ।
‘बुटवल कार्यालयबाट पटकपटक पत्राचार भएअनुसार हामीले यहाँबाट मन्त्रालयको विद्युत काट्नुपरयो,’ उनले भने, ‘मन्त्रालयको नाममा जडान भएको विद्युतको एक रुपैयाँ पनि बाँकी बक्यौता छैन । बुटवलको रकम नतिर्दा यहाँबाट बिजुली काट्नुपरेको हो ।’
बुटवलमा स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा भने गैरसरकारी संस्थाको कार्यालय छन् ।
यता स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन शर्माले बिना जानकारी विद्युत काटिएको बताए । ‘पत्र पठाएको २४ घण्टाभित्र बिजुली काटियो । पैसा नतिर्ने भन्ने हुन्न । महसुल भुक्तानीको लागि काम हुँदै छ,’ उनले भने ।
मन्त्रालयको विद्युत लाइन काटिदा काम ठप्प भएको उनको गुनासो छ ।