Public Pana
दैलेखमा पत्नीद्धारा पतिको हत्या
सांकेतिक तस्बिर

दैलेखमा पत्नीले खाना पकाउने कसौँडीले प्रहार गर्दा पतिको मृत्यु भएको छ । नौमुले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्।

गएको शनिबार रातिको घटना भए पनि प्रहरीलाई आइतबार मात्रै खबर प्राप्त भएको थियो। 


मंसिर ९ गतेबाट सुरु भएको महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसकै दिन सीता योगीले श्रीमान भीमबहादुरको हत्या गरेकी प्रहरीले जनाएको छ। 

प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिए अनुसार विवादहुँदा पहिले श्रीमानले हात छोडेपछि ढिँडो पकाएको कसौँडी (भड्डु)ले सीताले हानेर घाइते बनाएकी थिइन्। त्यसपछि पनि श्रीमान भीमबहादुरलाई सीताले दाउराले पनि टाँउकोमा हानेको पाइएको छ।

‘साँझ श्रीमान–श्रीमतिबीच झगडा भएको थियो। उहाँ (श्रीमान) राती भएकोले सुत्नु भएको होला भने बिहान हेर्दा त मृत्यु भएको रहेछ,’ सीताले प्रहरीसमक्ष बयान दिँदा भनेकी छन्। 


अत्याधिक रगत बगेर श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। 

उनले भने, ‘घरमा उहाँहरुबीच पहिला पनि सामान्य झगडा हुने रहेछ। उहाँको घरमा दुई सन्तान रहेछन्। त्यो दिन जेठो छोरा मामा घरमा रहेछन्। सानो छोरो आमा–बुवाबीच झगडा परेको थाहा पाएपछि डरले घरबाट बाहिर निस्केका रहेछन्।’

श्रीमतीको पनि मुखमा निलडाम रहेको डीएसपी लम्सालको भनाइ छ। प्रहरीले आइतबार मात्रै मृतक भीमबहादुरको शव दैलेख अस्पताल पु¥याएर पोष्टर्माटका लागि राखिएको छ। प्रहरीले सीतालाई पक्राउ गरिसकेको छ।

श्रीमान–श्रीमतिले मदिरा सेवन गरेका कारण विवाद उत्पन्न भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update