Public Pana
समितिद्धारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरत पौड्यालको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज आइतबार बसेको समितिको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

अब उनलाई राष्ट्रपतिले नियुक्त गर्न सक्नेछन् ।

जिम्मेवारी सम्हालेपछि क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा काम गर्नेछन्।


समितिको बैठकमा सांसदहरूले पौड्यालविरुद्धका आरोप र उजुरीहरूबारे प्रश्न सोधेका थिए। उनले आफूले पदीय दुरुपयोग नगरेको र बदनियत राखेर कुनै काम नगरेको भनी सफाइ पेस गरेका थिए। 

उनले राजदूतका रूपमा देशको हितमा काम गर्ने र राष्ट्रको सम्मान बढाउने काममा लागिपर्ने प्रतिबद्धता पनि संसदीय समितिसमक्ष व्यक्त गरेका थिए।

पौड्याल परराष्ट्र मन्त्रालयका बहालवाला सचिव पनि हुन्। तर, मंसिर २० गते उनी सेवाबाट अवकाश पाउँदै छन्।

उनी तीन वर्षअघि सचिवमा बढुवा भएका हुन्। उनले मन्त्रालयकै संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुख, मन्त्रालयको प्रवक्ता र पाकिस्तानका लागि नेपाली राजदूत भएर पनि काम गरेका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update