Public Pana
सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने : अर्थमन्त्री  महत

सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी थालेको छ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको हो ।


आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । उनले पब्लिक पानासँग कुरा गर्दै भने, ‘लगानी सम्मेलनका लागि मेरो संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ, समितिको पहिलो बैठक आज बसेको हो ।’


लगानी सम्मेलनका लागि तयारी थालिएकोले यसमा विदेशीसँगै स्वदेशी तथा गैर आवासिय नेपाली लगानीकर्तालाई पनि सँगसँगै लैजाने र सम्मेलनका लागि विदेशी राजदूतावासलाई परिचालन गरिने अर्थमन्त्री महतले बताए ।


लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।


लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ ।

लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा महतले निर्देशन दिएका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update