Public Pana
साताको पहिलो दिन शेयर बजारमा उल्लेख्य वृद्धि

निरन्तर उतारचढावमा देखिएको शेयर बजारमा यो साता पहिलो कारोबारमा उछाल आएको छ ।

गएको साता अन्तिम कारोबार सुधारतर्फ देखिएको शेयर बजारमा यो साता वृद्धिमा साथ मिल्नेगरी लामो समयपछि ठूलो अंकमा बढेको हो ।

आइतबार ४७.७५ अंकले बढेर बजार १९०७.९५ बिन्दुमा पुगेको छ। कारोबार रकम पनि लामो समयपछि दुई अर्बभन्दा माथि पुगेको छ।

आज आइतबार २१४ कम्पनीको सेयर मूल्य बढ्दा २ अर्ब १ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । 

अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा आइतबारको कारोबार भने सुधारतर्फ लागेको हो। योसहित बजार लगातार तेस्रो कारोबारमा वृद्धितर्फ लागेको हो । 

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ।

स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् । अहिलेको वृद्धिपछि पनि स्‍थायी वृद्धितर्फ जानेमा लगानीकर्ताहरू विश्वस्त छैनन्।  

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको थियो। सेयर कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको थियो।

उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी थिएनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका थिए।

अहिलेको उतारचढावपूर्ण स्थितिमा आएको वृद्धि केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले सुधारको बाटो समातेको हो भन्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ ।

गएको साता सोमबार १.३९ अंकले बढेर बजार १८५३.४८ बिन्दुमा पुगेको थियो भने मंगलबार २३.८२ अंकले घटेर बजार १८२९.६५ बिन्दुमा झरेको थियो। बुधबार २०.६७ अंकले बढेर बजार १८५०.३३ बिन्दुमा पुगेको थियो। बिहीबार ९.८७ अंकको वृद्धिसँगै बजार १८६०.२० बिन्दुमा पुगेको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update