Public Pana
काठमाडौं महानगरपालिकामा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको राजश्व संकलन

चालु आर्थिक वर्ष (आव) २०८०-८१ को पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले २७ दशमलव ११ प्रतिशत राजस्व संकलन गरेको छ ।


साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेले जानकारी दिए ।


काठमाडौं महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।


प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएकोमा २९ लाख ४० हजार उठाएको हो ।


१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख रुपैयाँ अर्थात २७ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएकोमा पहिलो चौमासिकमा ५२ करोड ४७ लाख रुपैयाँ अर्थात ५२ दशमलव ४८ प्रतिशत राजस्व उठेको थियो ।


यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख अर्थात ३० दशमलव ८० प्रतिशत राजस्व संकलन भएको छ । यही शीर्षकमा गएको वर्ष २ अर्ब लक्ष्य राखिएकोमा ४० प्रतिशत अर्थात् ७८ करोड ३७ लाख संकलन भएको थियो ।


यस वर्ष १ अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख रुपैयाँ अर्थात ९.१० प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको पहिलो चौमासिकमा ११ करोड ६८ लाख ३५ हजार राजस्व संकलन भएको थियो ।


यस्तै महानगरले पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख अर्थात् लक्ष्यको ५९ दशमलव ११ शुल्क आम्दानी भएको छ । यस्तै अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा महानगरले चौमासिक अवधिमै ५० लाख ९६ हजार राजस्व संकलन गरेको हो ।

यसअवधिमा नाता प्रमाणित दस्तुरबाट १७ लाख ७४ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ७५ लाख ७६ हजार ४३ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ राजस्व संकलन भएको काफ्ले बताए । 


महानगरले यस अवधिमा नाता प्रमाणित दस्तुरबाट ५० लाख रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट २ करोड रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।


महानगरमा पहिलो ४ महिनामा विज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार रुपैयाँ प्राप्त भएको छ ।


यससँगै महानगरपालिकाले पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँटतर्फ वन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने व्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ ।


यस वर्ष सशर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र सशर्त अनुदान पूँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य महानगरले राखेका थियो ।

जसमा सशर्तमा चालुमा अनुदानमा ३५ करोड ६६ लाख र ससर्त पूँजीगत अनुदनामा ७३ लाख ७५ हजार रुपैयाँ अर्थात् दुवैतर्फ २५ प्रतिशत प्राप्त भएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update