Public Pana
काठमाडौंमा फेरी सुरु भयो द्रुत बस सेवा 

काठमाडौंमा आज आइतबारदेखि पुनः द्रुत बस सेवा सञ्चालनमा ल्याइएको छ । 


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म आइतबारदेखि पुनः द्रुत बस सेवा सञ्चालन गरिएको जनाएको छ । 


पुनः द्रुत बस सेवा सञ्चालनका लागि ठाउँ–ठाउँमा बोर्ड राखिएको तथा सडकमा मार्किङ गरिएको (रातो रङ लगाइएको) छ । यस्तै, द्रुत सेवाका लागि ११ वटा बसहरु थप गरिएको छ ।

 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटा बससहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइने दाबी गरेका छन् । 


यातायात व्यवस्था विभागका अनुसार आइतबारदेखि ३६ वटा द्रुत बस सञ्चालनमा आएका छन् । ती बस ३–३ मिनेटको फरकमा छुट्ने बताइएको छ ।


सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बिहान र बेलुकी आवागमनको उच्च समय (पिक आवर) मा द्रुत बस कम भएको गुनासो आएकाले बसको सङ्ख्या थपेर चलाइएको बताए ।

 
एनले द्रुत बस सेवा सञ्चालनका लागि यसअघि करिब ३ करोड रुपैयाँ खर्च भएको बताए । 


महानिर्देशक ढकालले अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे सार्वजनिक हुने बताए । द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागको रहेको उनले बताए ।


काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जामका बीच सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुलाई छिटो गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले गत असोज ३ गते, संविधान दिवसका दिनदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याइएको थियो ।

तर दशैंदेखि भने उक्त सेवा स्थगित भएको थियो। दशैंमा यात्रुहरुको चाप कम भएको भन्दै द्रुत बस सेवा बन्द गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update