Public Pana
असईले पेस्तोल खेलाउने क्रममा फायरिङ्, प्रहरी जवान घाइते
सांकेतिक तस्बिर

महोत्तरीस्थित प्रहरी चौकी हलखोरीका इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

असई बच्चा यादवको पेस्तोल पड्किँदा गोली लागेर सप्तरी घर भएका जवान राजेशकुमार साह घाइते भएका हुन् । घटना गत कात्तिक ३० गते रातिको भएपनि भर्खरै मात्र सार्वजनिक भएको हो ।  

कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७-८ जनाको समूहले लुटपाट गयो । लुटपाटमा संलग्नमध्ये सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गयो ।

पक्राउ गरेर ल्याउने क्रममा उनीहरु भाग्न खोजे । तर प्रहरीले खुट्टामा गोली हानेर उनीहरूलाई पुनः नियन्त्रणमा लिएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भएको थियो । तालुक कार्यालयमा भएको रात्रिभोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला फायरिङ् भएको हो । पेस्तोलको गोली जवान राजेशकुमार साहको पाखुरामा लाग्यो ।

घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई जानकारी गरायो ।

घाइते प्रहरी जवानको ठेगाना सप्तरी भएकोले भारतको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई खबर गरेको हो । त्यसपछि घटना बाहिरिएको हो । घटनाबारे शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी पाएको हो । लगत्तै महोत्तरी प्रहरीले असई यादवलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गरिरहेको छ  ।

महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटना बारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update