Public Pana
कञ्चनपुरमा राप्रपाले गरेको बन्द नाममात्र : बजार खुला

राप्रपा कञ्चनपुरले आफ्ना नेता÷कार्यकर्ता पक्राउको विरोधमा आज शनिबारदेखि लागू हुनेगरी अनिश्चितकालीन कञ्चनपुर बन्दको आह्वान गरेको छ ।

कञ्चनपुरमा राप्रपाले घोषणा गरेको बन्द अहिलेसम्म निष्प्रभावी रहेको प्रहरीले जनाएको छ । बन्दलाई ध्यान दिएर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । 


बन्द आह्वान गरे पनि बजार तथा सडकमा आन्दोलनकर्ता देखिएका छैनन् ।   


‘अहिलेसम्म अवस्था सामान्य छ। गाडीहरु चलिरहेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भने, ‘बजार खुलेको छ । बन्दकर्ता देखिएका छैनन् ।’

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित भीम वाटिका रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जना राप्रपा कार्यकर्तालाई प्रहरीले हिजो शुक्रबार नियन्त्रणमा लिएको छ ।


गणतन्त्रविरोधी प्रदर्शनमा सहभागी आक्रोशित राजतन्त्र समर्थकले भीमदत्त पन्तको सालिक तोडफोड गरेका थिए। 

राप्रपा कञ्चनपुरले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर आफ्ना कार्यकर्ता समातेकाले अनिश्चितकालका लागि कञ्चनपुर बन्दको आह्वान गरिएको जनाएको छ । 

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दले हिरासतमा राखिएका नेता÷कार्यकर्ता निःसर्त रिहा नहुँदासम्म बन्द जारी रहने बताए । 

‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको वैद्धिक, सनातन हिन्दु राष्ट्र पुनर्स्थापना अभियान’ले निकालेको जुलुसका क्रममा शुक्रबार भीमदत्त पन्तको सालिक तोडफोड गरिएको थियो । 

तत्कालीन राजा महेन्द्रले निर्माण गरेको वाटिकाको नाम भीमदत्त राखिएको भन्दै आक्रोशित राजावादी समर्थकले सालिक तोडफोड गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update