Public Pana
दक्ष विदेशी नेपालमा, अदक्ष नेपाली विदेशमा
प्रतीकात्मक तस्विर

औसतमा दैनिक एक हजार ५०० नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । 

नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठूलो संख्या अदक्ष जनशक्ति हो । 

यसबाहेक सानो संख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनामा सरकारले ६९० विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ। नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जना रोजगारीका लागि विदेशिएका छन्। रोजगारीका लागि दैनिक एक हजार ५०० भन्दा बढी जनशक्ति विदेश पठाउने मुलुक आफैँले भने दक्ष जनशक्तिको अभाव झेल्नु परिरहेको छ। सरकारले विगतदेखि नै स्वदेशमा दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ। 

विभागका निर्देशक मणिनाथ गोपले आर्थिक वर्षको शुरुमा श्रमस्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि अब आउने महिनामा बढ्न सक्ने बताए। विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको संख्या क्रमशः बढ्दो दरमा देखिन्छ।

गत आवको कात्तिकसम्म नवीकरण र नयाँ गरी ६७१ विदेशी श्रमिकले श्रमस्वीकृति लिएका थिए। चालु आवमा नयाँ श्रमस्वीकृति र नवीकरण गर्नेको संख्या ६९० रहेको छ। यो हेर्दा गत वर्षको तुलनामा यो वर्ष १९ जनाले बढेको छ। 

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति ल्याई काममा लगाउन सकिने व्यवस्था छ।

नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेको पाइन्छ।

दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा प्रवेश गरी काम गर्ने प्रवृत्ति छ।

यसले अर्बौं रुपियाँ विदेश जाने गरेको छ। विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिकलाई कटौती गरी विदेशी श्रमिकसमेत राख्ने गरेको पाइएको छ। 
आज शनिबारको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update