Public Pana
‘लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयास गरौँ’ - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले लैंगिक हिंसा न्यूनीकरणमा एकताबद्ध प्रयासका लागि सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेका छन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शुभकामना दिँदै उनले संघीय संरचनाअनुसार तीनै तहका सरकारमा लैंगिक हिंसाविरूद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई संस्थागत गर्न आवश्यक रहेको बताएका छन् ।

प्रचण्डले लैंगिक हिंसामुक्त समाजको निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै व्यक्ति परिवार, संस्था, संरचना सबैमा रूपान्तरण नभएसम्म, प्रगतिशील चिन्तन र संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण सम्भव नहुने तर्क गरेका छन् ।

‘लैंगिक हिंसा व्यक्ति या परिवारको मात्रै समस्या होइन, यो हामीले अभ्यास गर्ने राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने नीतिहरुसँग अभिन्नरूपमा गाँसिएको छ’, उनले भनेका छन्, ‘सबै क्षेत्रमा महिलाको राजनीतिक, सामाजिक र साँस्कृतिक सम्मानजनक उपस्थिति र सहभागिताको सुनिश्चित भए मात्रै हामी महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सक्छौँ ।’

यसैगरी लैंगिक समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र समृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरूका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मर्मअनुरूप कानुन निर्माण गर्दै  महिला तथा बालबालिका लक्षित कार्यक्रम अघि बढाउन आवश्यक रहेको प्रचण्डको भनाइ छ ।


 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update